चार लाखका कारण काठमाडौंमा बंगलादेशी नागरिकको हत्या
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
१६ माघ, काठमाडौं । बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेजको काठमाडौंमा भएको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको खुलेको छ ।
प्रकरणका मुख्य आरोपित दुला मियाँलाई प्रहरीले बुधबार राति काँकरभिट्टाबाट पक्राउ गरेसँगै हत्याको कारण खुलेको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै भनेको छ, ‘मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएका रहेछन् । तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको हो ।’

यसअघि ७ माघमा सोल्टीमोडको होटल ग्राण्ड भिलाको कोठा नं. ११४ मा अहमदको शव भेटिएको थियो ।
‘अघिल्लो दिन हिमालय एयरलाइन्समार्फत सँगै काठमाडौं आएका दुई जनाबीच विवाद हुँदा विदेशी विस्कीको बोतल प्रहार गरेर अहमदको हत्या गरेको मियाँले स्वीकारेका छन्’, काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटी भन्छन् ।
उनका अनुसार बंगलादेशबाट विदेश जान अफ्ठ्यारो हुने भएकाले काठमाडौंको अवैध बाटो प्रयोग गरेर अहमदले विदेश पठाउन खाजेका थिए ।
तर, भिसा नै नलागेपछि योजना असफल भयो र समस्या सिर्जना भएको बोगटीले बताए ।